वैदेशिक रोजगारीमा रहेका वा जाने नेपालीहरुको लागि सामाजिक सुरक्षा कोषमा आवद्धता सम्वन्धी उपयोगी जानकारी (जनवरी २०२४)

वैदेशिक रोजगारीमा रहेका वा जाने नेपालीहरुको लागि सामाजिक सुरक्षा कोषमा आवद्धता सम्वन्धी उपयोगी जानकारी  (जनवरी २०२४)

१. सामाजिक सुरक्षा कोष सम्वन्धी पृष्ठभूमि, कानूनी प्रावधान, कोष सञ्चालन विधि तथा सामाजिक सुरक्षा योजना के कस्ता छन्?

पृष्ठभूमि

सामाजिक सुरक्षा कोषको स्थापना मिति २०६७ चैत्र ७ मा भएको हो।सामाजिक सुरक्षा (व्यवस्थापन तथा कोष सञ्चालन) नियमावली, २०६७ जारी भई सो बमोजिम स्थापित कोषले स्थापनाकाल देखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐन बमोजिम कार्य गर्दै आएको छ।पहिलो चरणमा देशभित्र औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई मात्र समेटिने गरी सामाजिक सुरक्षा योजनाहरुको औपचारिक शुरुवात मिति २०७५ मंसिर ११ बाट भएको हो।

कानुनी प्रावधान

नेपालको संविधानको धारा ४३ मा राखिएको सामाजिक सुरक्षाको हक तथा धारा ३४ मा राखिएको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सम्बन्धी व्यवस्थाको कार्यान्वयनका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ जारी भई कार्यान्वयनमा रहेका छन्।सामाजिक सुरक्षा योजना सञ्चालनको कार्यलाई निर्देशित एवम् व्यवस्थापन गर्न श्रम ऐन, २०७४ तथा नियमावली, २०७५, सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि (तेस्रो संशोधन सहित), २०७५, रोजगारदाता र श्रमिकको सूचीकरण सम्बन्धी कार्यविधि, २०७५, आर्थिक प्रशासन विनियमावली, २०७६, स्वास्थ्य सुरक्षा योजनाका लागि स्वास्थ्य संस्था छनौट तथा योजनाको रकम भुक्तानी सम्बन्धी कार्यविधि, २०७६ लगायतका नीति नियम एवं पन्ध्रौं योजना कार्यान्वयनमा रहेका छन्। साथै, नेपाल सरकारले अन्तरराष्ट्रिय मञ्चहरुमा गरेका अन्तरराष्ट्रिय श्रम संगठनको सामाजिक सुरक्षा (न्यूनतम मापदण्ड) सम्बन्धी अन्तरराष्ट्रिय अभिसन्धी, १९५२ (No.102) लगायतका अन्तरराष्ट्रिय सन्धी सम्झौताको कार्यान्वयनका लागि समेत नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रमको शुरुवात गरेको हो।

कोष सञ्चालन विधि

सामाजिक सुरक्षा योजना संचालन कार्यविधि (तेस्रो संशोधन सहित), २०७५, वैदेशिक क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९, तथा अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९, बमोजिम देशभित्रै औपचारिक क्षेत्रमा कार्यरत श्रमिक, वैदेशिक रोजगारमा रहेका श्रमिक तथा अनौपचारिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा योजनामा समेटिने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षाका कार्यक्रमहरुको विस्तार गरेको छ।

वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुसँग सम्बन्धित सामाजिक सुरक्षा योजनाको कार्यन्वयन ‘वैदेशिक क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ बमोजिम हुने गर्दछ।वैदेशिक रोजगारमा रहेका वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समेटिने गरी सामाजिक सुरक्षा कोषले विशेष गरी देहायका सुरक्षा योजना ल्याएको छ।

  • दुर्घटना र अशक्तता सुरक्षा योजना
  • आश्रित परिवार सुरक्षा योजना
  • वृद्ध अवस्था सुरक्षा योजना
  • अवकास कोष योजना
वृद्ध अवस्था सुरक्षा योजना

वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ६० वर्षको उमेर पछि योगदानकर्ताले मासिक निवृतिभरण (पेन्सन) प्राप्त गर्ने तथा अवकास कोषमा जम्मा भएको रकम एकमुष्ट निकाल्न सक्ने।पेन्सन पाइरेहको व्यक्तिको मृत्यु भएमा निजको पति वा पत्नीले पेन्सनको ५० प्रतिशत रकम आजीवन पेन्सन पाउने।

दुर्घटना र अशक्तता सुरक्षा योजना

दुर्घटना र अशक्तता सुरक्षा योजना अन्तर्गत योगदानकर्ता अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा तथा दुर्घटनाबाट अस्थायी वा स्थायी रुपमा अशक्त भएको अवस्थामा सामाजिक सुरक्षा योजनाबाट सहायता प्रदान हुने।

आश्रित परिवार सुरक्षा योजना

आश्रित परिवार सुरक्षा योजना अन्तर्गत योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएको अवस्थामा निजको आश्रित परिवारको सदस्यका लागि आजीवन पेन्सन प्राप्त हुने।आश्रित परिवारका २१ वर्ष नपुगेको सन्तानका लागि शैक्षिक वृति प्रदान हुने तथा वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको सम्पूर्ण रकम आश्रित परिवारको सदस्यहरुलाई सहायता प्राप्त हुने।

अवकास कोष योजना

योगदानकर्ताले स्वेच्छिक रुपमा सामाजिक सुरक्षा योजना अन्तर्गत गर्नुपर्ने तोकिए बमोजिमको योगदान भन्दा बढी रकम अवकास कोषमा जम्मा हुने र उक्त रकम रोजगार अन्त्य हुने वित्तिकै प्राप्त हुने।

२. सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने रकम कसले भुक्तानी गर्छ र कहिले फिर्ता पाइन्छ?

सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने रकम व्यक्ति स्वयंले जम्मा गर्नुपर्छ।पछिल्लो १२ महिनामा कम्तीमा ९ महिनाको योगदान गरेको अवस्थामा अस्पताल भर्ना भई उपचार गर्नुपर्ने भएमा, दुर्घटना भई अस्थायी वा स्थायी अशक्तता भएमा वा कुनै अकल्पनीय घटना भई योगदानकर्ताको मृत्यु भएमा दुर्घटना र अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजना अन्तर्गतका सुविधाहरु प्राप्त हुन्छ अन्यथा हुँदैन।वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गतको सुविधा प्राप्त गर्नका लागि ६० वर्षको उमेर पूरा भएको हुनुपर्छ।६० वर्षको उमेर पश्चात कुल योगदान रकमको प्रतिफल सहित हुन आउने रकमलाई १6० ले भाग गर्दा आउने भागफल बराबरको रकम मासिक रुपमा पेन्सनका रुपमा प्राप्त हुन्छ।यसका अलावा योगदानकर्ताले स्वेच्छिक रुपमा सामाजिक सुरक्षा योजना अन्तर्गत गर्नुपर्ने तोकिए बमोजिमको योगदान भन्दा बढी रकम जम्मा गर्नुभएको अवस्थामा अवकास कोषमा रहेको उक्त रकम रोजगार अन्त्य हुने वित्तिकै प्राप्त हुन्छ।

३. सामजिक सुरक्षा कोषमा मासिक कति रकम जम्मा गर्नुपर्छ? १ वर्षको एकैपटक वा २ वर्षको एकैपटक पनि जम्मा गर्न सकिन्छ कि सकिँदैन?

सामाजिक सुरक्षा कोषमा योगदान गर्दा मासिक रुपमा गर्नुपर्ने हुन्छ।यद्यपि अग्रिम रुपमा योगदान गर्न चाहेमा २४ महिनासम्मको योगदान एकैपटक अग्रिम रुपमा गर्न सकिन्छ।

कोषमा रकम जम्मा गर्दा कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३% र बढीमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म रकम जम्मा गर्न सकिन्छ।कोषमा योगदान गर्नुपर्ने छ महिना भन्दा बढी अवधिको रकम अग्रिम रुपमा कोषमा जम्मा गर्ने योगदानकर्तालाई सञ्चालक समितिले निर्णय गरी जम्मा गर्नुपर्ने रकमको १०% सम्म छुट दिन सक्ने व्यवस्था रहेको छ।

यसरी जम्मा भएको रकम मध्ये ७.४८% दुर्घटना र अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजना जस्ता सामाजिक बीमा कोषमा जम्मा हुन्छ र १३.८५% रकम व्यक्तिगत कोषको रुपमा जम्मा हुन्छ।सामाजिक बीमा कोषको रुपमा जम्मा भएको रकम फिर्ता हुँदैन। यो बीमाको लागि प्रयोग हुने भएकाले अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा, दुर्घटना भई अस्थायी वा स्थायी अशक्तता भएको अवस्थामा वा योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएका आश्रित परिवारलाई सहायता प्रदान गर्न उपयोग हुन्छ।सो रकम फिर्ता हुँदैन।व्यक्तिगत कोषको रुपमा रहेको वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने रकम वृद्ध अवस्थामा मासिक रुपमा पेन्सनका रुपमा प्राप्त हुन्छ।न्यूनतम बाहेक अतिरिक्त जम्मा गरिएको रकम अवकाश बचत योजनामा जम्मा हुन्छ र यो रोजगारी समाप्त हुदाँसाथ निकाल्न सकिन्छ।

४. सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्दा राजदूतावासमा सिधै जम्मा गर्न मिल्छ कि मिल्दैन? कुन कुन विधिबाट रकम जम्मा गर्न सकिन्छ?

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्दा सिधै कोषमा जम्मा हुने गरी गर्नुपर्ने हुन्छ। राजदूतावासमार्फत जम्मा गर्ने व्यवस्था छैन।योगदानकर्ता स्वयंले वित्तिय सेवाहरु जस्तैः Connect IPS, e-sewa बाट योगदान रकम जम्मा गर्न सक्छन्।

५. सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्दा आँफैले जम्मा गर्नुपर्छ कि अरु कसैले जम्मा गरिदिए पनि हुन्छ?

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्दा आँफैले जम्मा गर्नुपर्छ।

६. सामाजिक सुरक्षा कोषमा जम्मा गरेको रकमको व्याज पाइन्छ कि पाइँदैन? कति प्रतिशत पाइन्छ?

वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने रकम रकम सामाजिक सुरक्षा कोषले विभिन्न क्षेत्रमा लगानी गर्ने र सोबाट प्राप्त प्रतिफल सहित ६० वर्ष उमेर पुगेपछि पेन्सनका रुपमा मात्रै प्राप्त हुन्छ।

दुर्घटना र अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजना अन्तर्गत जम्मा हुने रकम बीमाको रुपमा प्रयोग हुने भएकाले जम्मा गरेको रकम फिर्ता पाइदैन।

अवकाश बचत योजनामा जम्मा भएको रकमबाट ग्यारेण्टी ब्याजदर प्रतिफल प्राप्त हुनुका साथै स्वदेश फर्किएर स्वरोजगारी गर्न चाहेमा व्यवसाय प्रवर्द्धन कर्जा समेत प्राप्त हुन्छ।

७. सामाजिक सुरक्षा कोषमा आफूले रकम जम्मा गरेपछि आफ्नो रोजगारदाताले सामाजिक सुरक्षा कोष, सचिवालयले वा सरकारले थप कुनै रकम पनि जम्मा गरिदिने व्यवस्था छ छैन? हुन्छ हुदैन?

वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुले सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्दा हाललाई रोजगारदाताले, सामाजिक सुरक्षा कोष सचिवालयले वा सरकारले थप कुनै रकम जम्मा गरिदिने व्यवस्था छैन।स्वदेशमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको हकमा कोषमा रोजगारदाताबाट आधारभूत पारिश्रमिकको २०% र श्रमिकबाट आधारभूत पारिश्रमिकको १०% गरी ३१% सम्म जम्मा हुन्छ।तर वैदेशिक रोजगारीको हकमा सम्बन्धित व्यक्तिले मात्र योगदान गर्नुपर्ने हुन्छ।

८. सामाजिक सुरक्षा कोष र पेन्सन तथा बीमा कोषमा के भिन्नता छ? सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेपछि बीमा गर्नु नपर्ने होकि बीमा पनि गर्नुपर्ने हो?

वैदेशिक रोजगारमा आउँदा अनिवार्य रुपमा गर्नुपर्ने म्यादी जीवन बीमाको उद्देश्य वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु भएमा निजमा आश्रित परिवारलाई सहायता प्रदान गर्नु रहेको छ भने सामाजिक सुरक्षा कोषको उद्देश्य श्रमिकलाई वैदेशिक रोजगारीका क्रममा बिरामी भई उपचार गर्नुपर्ने अवस्था, दुर्घटनामा परी अस्थायी वा स्थायी रुपमा अशक्तता भएमा वा योगदानकर्ताको मृत्यु भएको जस्ता विभिन्न अवस्थामा सहायता प्रदान गर्नु हो।सामाजिक सुरक्षाले रोजगारीको सिलसिलामा आउन सक्ने जटिल परिस्थितहरुमा श्रमिकहरुलाई सहायता प्रदान गर्ने गर्दछ।

हाल सामाजिक सुरक्षा कोषमा योगदान गरे पनि श्रमिकले प्रत्येक दुई दुई वर्षमा पुनः श्रम स्वीकृति लिने क्रममा म्यादी जीवन बीमा भने गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ।म्यादी जीवन बीमा वैदेशिक रोजगार करार अवधिसँग आवद्ध हुन्छ।

९. सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम फिर्ता लिन चाहेमा कति समयपछि फिर्ता पाउन सकिन्छ? के कोषमा जम्मा भएको रकम ६० वर्ष उमेर पुगेपछि मात्रै फिर्ता पाइने हो र?

कोषमा कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३% र बढीमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म रकम जम्मा गर्न सकिन्छ।यसरी जम्मा भएको रकम मध्ये ७.४८% दुर्घटना र अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजना जस्ता सामाजिक बीमा कोषमा जम्मा हुन्छ र १३.८५% रकम व्यक्तिगत कोषको रुपमा जम्मा हुन्छ।सामाजिक बीमा कोषको रुपमा जम्मा भएको रकम फिर्ता हुँदैन।यो बीमाको लागि प्रयोग हुने भएकाले पछिल्लो १२ महिनामा कम्तीमा ९ महिनाको योगदान गरेको अवस्थामा अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा, दुर्घटना भई अस्थायी वा स्थायी अशक्तता भएको अवस्थामा वा योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएका आश्रित परिवारलाई सहायता प्रदान गर्न उपयोग हुन्छ जुन रकम फिर्ता हुँदैन।व्यक्तिगत कोषको रुपमा रहेको वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने रकम वृद्ध अवस्थामा अर्थात ६० वर्ष उमेर पुगेपछि मासिक रुपमा पेन्सनका रुपमा प्राप्त हुन्छ।न्यूनतम बाहेक अतिरिक्त जम्मा गरिएको रकम अवकाश बचत योजनामा जम्मा हुन्छ र यो रोजगारी समाप्त हुदाँसाथ निकाल्न सकिन्छ।

१०. सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम निरन्तर जम्मा गर्न नसकेमा पहिले जम्मा भएको रकम फिर्ता नपाइने हो कि? पाइन्छ भने कहिले पाइन्छ?

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम निरन्तर जम्मा गर्न नसकेमा पहिले जम्मा भएको रकम जम्मा भएको रकम मध्ये ७.४८% दुर्घटना र अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजना जस्ता सामाजिक बीमा कोषमा जम्मा हुन्छ र १३.८५% रकम व्यक्तिगत कोषको रुपमा जम्मा हुन्छ। जम्मा भएको रकम मध्ये ७.४८% रकम फिर्ता पाइदैँन भने १३.८५% रकम वृद्ध अवस्थामा अर्थात ६० वर्ष उमेर पुगेपछि मासिक रुपमा पेन्सनका रुपमा प्राप्त हुन्छ।

सामाजिक सुरक्षा योजनामा सहभागी भएको हकमा योजनाको सुविधा प्राप्त गर्नको लागि वैदैशिक रोजगारमा रहेको वा विदेशमा स्वरोजगारमा रहेका योगदानकर्ताले घटना घटेको मितिभन्दा बाह्र महिनामा कम्तीमा नौ महिनाको योगदान गरेको हुनेपर्ने भन्ने कानूनी व्यवस्था रहेको छ।

११. सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न छुटभयो, सकिएन, चाहना भएन वा बन्द गर्न मनलाग्यो भने जम्मा भएको रकम निकाल्न सकिन्छ सकिँदैन?

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न छुटभयो, सकिएन, चाहना भएन वा बन्द गर्न मनलाग्यो भने जम्मा भएको रकम निकाल्न पाइने वा नपाइने सम्बन्धमा “वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९” अनुरुप हुन्छ।

१२. सामाजिक सुरक्षा कोष, बीमा कोष, पेन्सन कोषलाई अनिवार्य गरिएको हो भने के कति रकम जम्मा गर्नुपर्छ?

सामाजिक सुरक्षा कोषमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३% र बढीमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म रकम जम्मा गर्न सकिन्छ।नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत मासिक पारिश्रमिक रू. १०,८२० (न्यूनतम पारिश्रमिक रु. १७,३०० मध्ये न्यूनतम आधारभूत मासिक पारिश्रमिक रू. १०,८२० र महंगी भत्ता रू. ६४८०) को २१.३३% अर्थात रु.२३०८ मासिक रुपमा जम्मा गर्नुपर्ने हुन्छ।

म्यादी जीवन बीमाको हकमा प्रत्येक दुई दुई वर्षमा पुनः श्रम स्वीकृति लिँदा श्रमिकको उमेर अनुसार रु.२६४६-७,२५० सम्म जम्मा गर्नुपर्ने हुन्छ।

साथै, पुनः श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा ३ वर्ष सम्मको लागि रू. १५०० र सो भन्दा बढी अवधिको लागि रू. २५०० अनिवार्य जम्मा गर्नुपर्ने हुन्छ।

१३. विदेशमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा कोषमा सहभागिता अनिवार्य हो कि स्वेच्छिक हो?

“वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९” को दफा ४ (१) मा पुनः श्रम स्वीकृति लिँदा कोषमा सूचीकृत हुनुपर्नेछ भन्ने व्यवस्था बमोजिम तथा दफा ५ को कोषले वैदेशिक रोजगारमा रहेको श्रमिक वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्नेछ भन्ने व्यवस्था भए अनुसार विदेशमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा कोषमा सहभागिता अनिवार्य रहेको छ।

१४. बीमा बापतको रकम र पेन्सन कोषको रकममा के भिन्नता छ? एउटा मात्रै भए हुँदैन?

कोषमा रकम जम्मा गर्दा कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३% र बढीमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म रकम जम्मा गर्न सकिन्छ। यसरी जम्मा भएको रकम मध्ये ७.४८% दुर्घटना र अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजना जस्ता सामाजिक बीमा कोषमा जम्मा हुन्छ र १३.८५% रकम व्यक्तिगत कोष (वृद्ध अवस्था सुरक्षा योजना) को रुपमा जम्मा हुन्छ।

सामाजिक बीमा कोषको रुपमा जम्मा भएको रकम फिर्ता हुँदैन। यो रकम बीमाको लागि प्रयोग हुने भएकाले फिर्ता हुँदैन।व्यक्तिगत कोषको रुपमा रहेको वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने रकम वृद्ध अवस्थामा मासिक रुपमा पेन्सनका रुपमा प्राप्त हुन्छ।न्यूनतम बाहेक अतिरिक्त जम्मा गरिएको रकम अवकाश बचत योजनामा जम्मा हुन्छ र यो रोजगारी समाप्त हुदाँसाथ निकाल्न सकिन्छ।

“वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९” को दफा ५ बमोजिम कोषले वैदेशिक रोजगारमा रहेको श्रमिक वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना(सामाजिक बीमा कोष) रवृद्ध अवस्था सुरक्षा योजना (व्यक्तिगत कोष) सञ्चालन गर्नेछ भन्ने व्यवस्था भए अनुसार सबै योजनामा सहभागी हुनु अनिवार्य रहेको छ।

१५. सामाजिक सुरक्षा कोष सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न कहाँ सम्पर्क गर्ने?

वैदेशिक रोजगारमा रहनुहुने योगदानकर्ताले सामाजिक सुरक्षा कोष सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सामाजिक सुरक्षा कोषको लिंकमा गएर बुझ्न वा देहायको फोन नम्बर वा इमेल ठेगाना मार्फत सम्पर्क गर्न सकिन्छ।

***