Press Release बालबालिकाको राजदूतावास भ्रमण तथा बाल प्रतिभा प्रस्तुति कार्यक्रम सम्पन्न

प्रेस विज्ञप्ति

बालबालिकाको राजदूतावास भ्रमण तथा बाल प्रतिभा प्रस्तुति कार्यक्रम सम्पन्न

नेपाली राजदूतावास, मनामा, बहराइनले मिति २०८३ जेठ १ गते तदनुसार १५ मे २०२६ शुक्रबारका दिन बालबालिकाको राजदूतावास भ्रमण तथा बाल प्रतिभा प्रस्तुति कार्यक्रम अभिभावक तथा बालबालिकाहरुको उत्साहप्रद सहभागिताका साथ सम्पन्न गरेको छ।

बहराइनमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, संस्कृति, परम्परा तथा व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । बालबालिकाहरूको सक्रिय, सार्थक र सिर्जनशील सहभागिता रहेको यस कार्यक्रममा बहराइनमा अध्ययनरत करिब ३५ जना नेपाली बालबालिकाहरूले चित्रकला, कवितावाचन, नृत्य  तथा वक्तृत्वकला प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रस्तुति दिने बालबालिकाहरुलाई प्रमाणपत्र तथा शैक्षिक सामग्री उपलब्ध गराइएको थियो।

कार्यक्रमको समापनमा राजदूत श्री तीर्थराज वाग्लेले वैदेशिक रोजगारीमा रहेका नेपाली अभिभावकका नानीबाबुहरूको उत्साहजनक सहभागिता र सृजनशीलताको प्रशंसा गर्दै बहराइनमा रहेका नेपाली विद्यार्थी, अभिभावक तथा नेपाली समुदायले नेपालबहराइन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन पुर्‍याएको योगदानको सराहना गर्नुभयो ।

राजदूतावासका श्रम सहचारी श्री सुनिता थापाले शैक्षिक, सामाजिक तथा श्रमिक कल्याणसम्बन्धी विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो। राजदूतावासका तृतीय सचिव श्री दीपराज जोशीले कार्यक्रमको संयोजन तथा सञ्चालन गर्नुका साथै शैक्षिक तथा अध्यापन सम्बन्धी ज्ञान र अनुभव बारे चर्चा गर्नुभएको थियो।

सो कार्यक्रममा नेपाली क्लब बहराइनका अध्यक्ष श्री दीपक गुरुङ, गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् बहराइनका अध्यक्ष श्री राजु कुमार श्रेष्ठ, नेपाली क्लब बहराइनका उपाध्यक्ष तथा भाषा कक्षा संयोजक श्री नरेन्द्र घले, स्थानीय शिक्षिका श्री देवी बस्याल तथा स्वयंसेवी शिक्षिकाद्वय श्री रेजिना छिनाल र श्री सुशीला गेलालले नेपाली भाषा, संस्कृति, परम्परा, व्यावहारिक ज्ञान तथा बालबालिकाको शैक्षिक र बहुआयामिक विकासका विषयमा आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा नेपाली क्लब बहराइन, गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् बहराइन लगायत विभिन्न नेपाली सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, बालबालिका र अभिभावक गरी करिब एक सय जनाको सहभागिता रहेको थियो ।

 

नेपाली राजदूतावास

मनामा, बहराइन

२०८३ जेठ ३ (१७ मे २०२६) ।