साहित्यिक कार्यक्रम सम्पन्न

 

 

प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, मनामा, बहराइनमा मिति २०८३ कार्तिक १३ गते शुक्रबार तदनुसार ३० अक्टोबर २०२६ का दिन नेपाल-बहराइन कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षको अवसर तथा ११८ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसरमा वैदेशिक रोजगार र श्रमिक सरोकार विषयक रचना वाचन कार्यक्रम आयोजना गरेको छ।

नेपाली राजदूतावास मनामाका राजदूत महामहिम श्री तीर्थराज वाग्लेले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको उक्त साहित्यिक  कार्यक्रममा  बहराइनमा रहनुभएका विभिन्न सर्जकहरुले वैदेशिक रोजगारका विविध पाटोहरु तथा नेपालको कला तथा संस्कृति सम्बन्धमा कविता, गजल लगायतका रचना वाचन गर्नुभएको थियो।

कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुले नेपाली मौलिक धुन तथा नाट्यकला प्रस्तुतिका साथै बहराइनमा अध्ययनरत नेपाली बालबालिकाहरुले देउसी भैलोको प्रस्तुति समेत गरेका थिए।

कार्यक्रममा आफ्नो कविता सहित मन्तव्य राख्नुहुँदै राजदूत वाग्लेले सम्पूर्ण सर्जकहरुले आफ्नो कार्यव्यस्तता र समयको दबाबका बीच नेपालको कला, संस्कृति र परम्परा जीवन्त राख्न पहल गर्नु भएकोमा र आ-आफ्ना रचना प्रस्तुत गर्नुभएकोमा हार्दिक धन्यबाद व्यक्त गर्नुभएको थियो।साथै,राजदूत वाग्लेले सिर्जनामा मुखरित भएका  श्रमिक सरोकारका विषयले सुरक्षित र मर्यादित वैदेशिक रोजगारका निम्ति ज्ञान, सीप र कौशल प्रखर बनाउन सम्बद्ध सबै पक्षलाई सामयिक पृष्ठपोषण प्राप्त भएको बताउनु भएको थियो। उक्त कार्यक्रममा राजदूतावासका द्वितीय सचिव केशवराज पन्थीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने नेपाली क्लबका अध्यक्ष दूतप्रसाद गुरुङ लगायत करिब 30 जना सर्जकबाट रचना वाचन गरिएको थियो।

राजदूतावासको बैठक हलमा सम्पन्न उक्त कार्यक्रममा बहराइनस्थित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, राजदूतावास परिवार एवम् बहराइनमा रहनु भएका करिब 100 जना कला तथा साहित्यप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो। उक्त  कार्यक्रमको संयोजन तथा सञ्चालन राजदूतावासका तृतीय सचिव दीपराज जोशीले गर्नु भएको थियो।

 

नेपाली राजदूतावास
मनामा, बहराइन

२०८३ कार्तिक १७