विद्युतीय राहदानी (e-Passport) का लागि Online फाराम भर्ने (Pre-enrollment) तरिका र आवश्यक कागजातहरु बारे थप जानकारी सहितको सूचना
विद्युतीय राहदानी (e-Passport) का लागि Online फारम भर्ने (Pre-enrollment) प्रकियाहरुबारे थप जानकारी सहित सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।
राहदानी नवीकरणको लागि सेवाग्राहीको चाप अत्याधिक भएकोले राहदानीको बहाल अवधि समाप्त भएका राहदानी बहाल अवधि १ वर्ष भन्दा कम रहेका वा राहदानीको पाना सकिएका आवेदकहरुले सकेसम्म आफ्नो Online आवेदन/फारम स्वयं आफैले भर्नुपर्नेछ।आफैले आवेदन भर्न असुविधा भएमा आफ्नो परिवारका सदस्य वा विश्वासप्राप्त साथीभाई वा सहकर्मी वा स्वयंसेवी मार्फत राहदानीको Online आवेदन फाराम भर्न सकिन्छ।फाराम भर्दा आफ्नो विवरण शुद्ध भर्नुपर्दछ र राम्रो सँग आफैंले रूजु गर्नु पर्दछ। Online फाराम भरे पछि सो फाराम प्रिन्ट गरी साथमा लिई फोटो खिच्न/वायोमेट्रिक डेटा दिनका लागि स्वयं राजदूतावासमा आउनु हुन अनुरोध गरिन्छ।
ई-पासपोर्ट आवेदन गर्नका लागि प्रिइनरोलमेन्ट गर्ने तरीका
1- राहदानी विभागको वेबसाइटमा https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।
- हस्तलिखित राहदानी बाहकहरुले नयाँ (New) छान्ने । (पहिलो पटक नेपाली राहदानी बनाउने बहराइनमा जन्मेका सन्तानको हकमा पनि नयाँ (New) छान्ने ।)
- पुरानो MRP हुनेहरुले नवीकरण (Renewal) छान्ने ।
- हालको राहदानी हराएको हकमा हराएको/चोरिएको (Lost/Stolen) छान्ने ।
- हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमा बिग्रेको (Damaged) छान्ने ।
- ३४ पेजको राहदानी लिन चाहनेले Ordinary 34 pages क्लिक गर्ने (दस्तुर BD 20)।
- ६६ पेजको राहदानी लिन चाहनेले Ordinary 66 pages क्लिक गर्ने (दस्तुर BD 40) ।
2- त्यस पश्चात Book Your Appointment मा प्रवेश गरेर Other क्लिक गरी NE, Manama छानेर आफूलाई उपयुक्त हुने मिति र समय Booking गर्ने ।Appointment बुकिङ्ग गर्दा एक महिना भित्रको कुनै दिनको लागि बुकिङ्ग गर्न सकिन्छ।यसरी बुकिङ्ग गरेको दिन मात्रै फोटो खिच्न र वायोमेट्रिक दिनका लागि राजदूतावास आउनुहुन अनुरोध छ।
3- त्यस पश्चात राहदानीको Online फारममा भएका विभिन्न उपशीर्षकमा रहेका विवरणहरु भर्ने।
- जनसांख्यिक जानकारी
- नागरिकता सम्बन्धी जानकारी
- आवेदकको सम्पर्क विवरण
- जरूरी परेमा सम्पर्क गर्ने विवरण
- अन्तिम/हालको राहदानी सम्बन्धी विवरण
नोटः बहराइनबाट आवेदन गर्ने आवेदकका लागि नेपालको राष्ट्रिय परिचयपत्र नं. (National Identity Number) आवश्यक नपर्ने।
त्यस पश्चात आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै JPEG वा PNG format मा स्क्यान गरी अपलोड गर्ने।
4- तत्पश्चात फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने र सो प्रिन्ट लिएर फोटो खिच्न र लाईभ इनरोलमेन्ट (Live-enrollment) गर्न सक्कल राहदानी तथा नागरिकताको सक्कल/फोटोकपी सहित राजदूतावासमा आउनुपर्नेछ।
5- प्रि इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरु:
- नागरिकता प्रमाणपत्रको अगाडी/पछाडी पेज छुट्टाछुट्टै । संभव भएसम्म कलर कपी।
- हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै कलर कपि।
- हालको राहदानी हराएको भए बहराइन प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन ।
6- १६ बर्ष भन्दा कम उमेरका बालबालिकाको लागि निम्न कागजात Upload गर्नुपर्नेः-
- बुबा आमाको नागरिकताको प्रमाणपत्र ।
- बुबा आमाको विवाह दर्ताको प्रमाणपत्र ।
- बहराइनमा जन्मेको बालबालिकाको हकमा पहिलो पटक ई-पासपोर्टका लागि आवेदन गर्दा यहाँबाट जारी जन्मदर्ता प्रमाणपत्र बहराइनको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरी यस राजदूतावासबाट समेत प्रमाणित गरेको प्रति ।
- नेपालमा जन्मेको बालबालिकाको हकमा नाबालक परिचयपत्र ।
7- e-Passport को आवेदनका लागि Pre-enrollment गर्दा आफ्ना विवरणहरू भरिसकेपछि पेश (Submit) गर्नु अगाडि राम्रोसँग रूजु गर्नुहुन अनुरोध गरिन्छ।
8- माथि उल्लेखित कागजातका प्रतिहरु लाईभ इनरोलमेन्ट (Live-enrollment) गर्न राजदूतावास आउँदा समेत साथमा लिएर आउनुपर्नेछ ।
9- नागरिकताको अपलोड (Upload) गरिएका प्रतिहरू मधुरो भएमा वा अक्षर प्रष्ट नदेखिएको वा कतिपय नबुझिने हुँदा संभव भएमा आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र साथमा भए सक्कल प्रति र नभएमा कलर फोटोकपी वा बुझिने फोटोकपी लिएर आउनुपर्नेछ ।
10- e-Passport को आवेदनका लागि Pre-enrollment फाराम भरिसकेपछि राजदूतावासमा Live-enrollment का लागि आँउदा तोकिएको मितिमा मात्र आउनु होला ।
11- फारममा भरेको विवरण नै राहदानीमा छापिने भएकाले फाराम भर्दा आफ्नो विवरण शुद्ध भर्ने, सक्कल कागजात अपलोड गर्ने र आफैले रूजु गरेर निश्चित भएपछि मात्र राजदूतावासमा पेश गर्नुहोला ।
12- दोहोरो फाराम भरेको पाइएमा राहदानी फारम रद्ध हुनसक्ने भएकोले एक जना सेवाग्राहीले एउटा मात्र अनलाइन फारम भर्नुहोला ।
13- राहदानी बनाउन वायोमेट्रिक दिएका सेवाग्राहीले राहदानी विभागको वेब पेजमा https://nepalpassport.gov.npमा गएर Check Latest Passport Status वा Nepal ePassport मोबाइल एप्सबाट आफ्नो पासपोर्ट तयार भएको नभएको सम्बन्धी विवरण थाहा पाउन सकिन्छ ।
14- सामान्यतः राजदूतावासमा आई आवेदन फाराम पेश गरेको मितिले ६ हप्ता सम्ममा नेपालको राहदानी विभागबाट राहदानी तयार भएर आउँछ।तत् पश्चात राजदूतावासको फेसबुक पेजमा सूचना हेरेर नयाँ राहदानी बुझ्न आउनुहोला।
15- राहदानी दस्तुर/शुल्क-
- ३४ पेजको राहदानी नवीकरणको लागि बहराइनी डिनार - २०।-
- ६६ पेजको राहदानी नवीकरणको लागि बहराइनी डिनार - ४०।-
- १० बर्ष भन्दा कम उमेरका बालबालिकाको लागि बहराइनी डिनार - १०/-
- पहिलेको राहदानी चोरी भएको/हराएको/च्यातिएको वा कुनै कारणले काम नलाग्ने भई
- अर्को राहदानी बनाउनु परे माथि उल्लेखित शुल्कको दोब्बर शुल्क लाग्नेछ।
16- ई-पासपोर्टका बारेमा थप जानकारी आवश्यक परेमा निम्न लिंकमा सूचना हेर्नुहोला ।
- राहदानी विभागको वेबसाईट: https://nepalpassport.gov.np
- यस राजदूतावासको वेवसाईट: https://bh.nepalembassy.gov.np/passport/
- यस राजदूतावासको फेसबुक: https://www.facebook.com/NepalinBahrain
नेपाली राजदूतावास, मनामा, बहराइन
२०७९/१०/१६ (३० जनवरी २०२३)
********
ई-पासपोर्ट (e-Passport) आवेदन सम्बन्धी केही जिज्ञासाहरु
- MRP (Machine Readable Passport) को म्याद बहाल हुँदाहुदै e-Passport बनाउनु पर्छ कि पर्दैन?
MRP को म्याद बहाल रहँदासम्म e-Passport बनाउनु पर्दैन ।
- MRP को म्याद सकिन कति समय भए पश्चात e-Passport को लागि आवेदन दिन सकिन्छ?
MRP को म्याद १ वर्ष भन्दा कम भएमा e-Passport को लागि आवेदन दिन सकिन्छ।
- e-Passport बनाउन के के गर्नुपर्छ?
e-Passport Pre-Enrollment फारम online भर्नुपर्छ। सो को लागि आफ्नो व्यक्तिगत विवरण भरेपश्चात नागरिकताको अगाडी/पछाडीको र पासपोर्टको फोटो भएको पेज र निकटतम व्यक्तिको नाम ठेगाना भएको पेज (पेज नं. 2, 3, 31) को स्पष्ट फोटो खिचेर upload गर्नुपर्छ । ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका सम्बन्धमा राजदूतावासको मिति २०७८/१२/२० को सूचना निम्न लिङ्कबाट हेर्न सकिन्छ।
- e-Passport फारम भरेपछि फोटो ल्याउनु पर्छ कि पर्दैन?
राजदूतावासमानै Live फोटो खिचिने भएकोले फोटो ल्याउनु आवश्यक छैन।
- online फारम भरे पश्चात फोटो खिच्नका लागि राजदूतावास आउँदा के-के ल्याउनु पर्छ?
online भरिएको barcode सहितको फारमको printout, नागरिकताको फोटोकपी तथा सक्कल राहदानी लिएर फोटो खिच्नका लागि राजदूतावासमा स्वयं उपस्थित हुनपर्नेछ।
- e-Passport आवेदन दिएको कति दिनमा राहदानी प्राप्त हुन्छ?
आवेदन दिएको करिब एक महिनामा राहदानी विभाग, काठमाडौंबाट राहदानी तयार भई राजदूतावासमा प्राप्त हुन्छ । साथै, राजदूतावासमा राहदानी प्राप्त भएपश्चात प्राप्त राहदानीको नामावली राजदूतावासको फेसबुकमा समेत प्रकाशन गरिन्छ।
- e-Passport आवेदन दिएपछि राहदानी तयार भए/नभएको जानकारी कसरी लिन सकिन्छ?
e-Passport आवेदन दिएपश्चात आफ्नो राहदानीको अवस्था Nepal ePassport App बाट check गर्न सकिन्छ । तपाँइले online फारम भर्दा राख्नु भएको ईमेल ठेगाना तथा नेपालको सम्पर्क नंम्बरमा समेत जानकारी प्राप्त हुन्छ । यदि आवेदन रिजेक्ट (Reject) भएमा सम्पूर्ण कागजात सहित आवेदन दिएको १५ दिन भित्र राजदूतावासमा पुनः उपस्थित हुनुपर्नेछ ।
- राजदूतावासबाट छिटो e-Passport प्राप्त गर्न गर्न सकिन्छ कि सकिदैन?
हाल इमरजेन्सी अथवा द्रुत सेवाबाट e-Passport राहदानी विभाग, काठमाडौंबाट मात्र प्राप्त गर्न सकिन्छ । हालको राहदानीको म्याद सकिएको र नयाँ राहदानी बनाउन समय लाग्ने भएको अवस्थामा जरूरी परेमा राजदूतावासबाट नेपाल फर्कनको लागि एकतर्फी यात्रा अनुमति पत्र (Travel Document) जारी गर्न सकिने छ।
- e-Passport बनाउन fee कति लाग्छ?
ई-पासपोर्ट (e-Passport) ३४ पेजको र ६६ पेजको हुन्छ । ३४ पेजको - २० दिनार, ६६ पेजको - ४० दिनार, १० बर्ष भन्दा कम उमेरका बालबालिकाको - १० दिनार, राहदानी चोरी भएको/हराएको/च्यातिएको भएमा दोब्बर शुल्क लाग्नेछ।
10. बहराइनमा जन्मेर एक पटक राहदानी लिई सकेका बालबालिकाको हकमा पुन: राहदानी नविकरणका लागि आवेदन गर्न सकिन्छ कि सकिदैन?
बहराइनमा जन्मेर राजदूतावासबाट एक पटक राहदानी प्राप्त गरेपश्चात पुन राहदानी नविकरण गर्नका लागि नेपालबाट प्राप्त नाबालक परिचयपत्र सहित आवेदन गर्नुपर्दछ।
ई-पासपोर्ट (e-Passport) आवेदन फारम = https://emrtds.nepalpassport.gov.np/
राष्ट्रिय आर्थिक गणना २०८२