संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम २०८० सम्पन्न भएको सम्बन्धी प्रेस विज्ञप्ति

संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम २०८० सम्पन्न भएको सम्बन्धी प्रेस विज्ञप्ति

१) नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को महत्वपूर्ण अवसरमा नेपाली राजदूतावास, मनामा, बहराइनद्वारा मिति २०८० असोज ७ गते तदनुसार २४ सेप्टेम्बर २०२३ मा एक कूटनीतिक रिसेप्सन कार्यक्रम आयोजना गरियो। मनामास्थित द डिप्लोम्याट र्‌याडिसन ब्लू होटलमा आयोजित उक्त कार्यक्रममा बहराइन सरकारका सामाजिक विकास मन्त्री H.E. Osama Bin Ahmed Khalaf Al Asfoor तथा बहराइन सरकारको परराष्ट्र मन्त्रालयका कन्सुलर तथा प्रशासनिक मामिला सम्बन्धी सचिव H.E. Dr. Mohamed Ali Bahzad को प्रमुख उपस्थिति रहेको थियो ।

२) रिसेप्सन कार्यक्रममा बहराइनी संसद शुरा काउन्सिलका सदस्यहरू, बहराइन चेम्बरका अध्यक्षका साथै बहराइन सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, युवा मन्त्रालय, गल्फ विश्वविद्यालय, हस्पिटालिटी स्कुल लगायतका उच्च पदस्थ अधिकारीहरू, बहराइनस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरू, व्यवसायी, पत्रकार तथा प्रबुद्ध व्यक्तिहरूका साथै बहराइनमा रहनुभएका नेपाली संघ संस्थाका प्रमुखहरू तथा नेपाली समुदायका प्रतिनिधिहरू समेत गरी करिब २०० जनाको उपस्थिति रहेको थियो ।

३) उक्त कार्यक्रमका अतिथिवर्ग तथा उपस्थित महानुभावहरुलाई स्वागत तथा सम्बोधन गर्दै महामहिम राजदूत श्री तीर्थराज वाग्लेले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूबाट नेपाल र नेपालीका लागि अभिव्यक्त शुभकामना र सद्भावका लागि हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

४) नेपालको संविधानको भावना र जनताको आकांक्षा अनुरुप देशको समग्र विकासका निम्ति नेपाल सरकारले अर्थतन्त्रको संरचनात्मक सुधार र सुशासन र सेवा प्रवाहमा सुधारका साथै विकास आधारशीला तयार गर्ने कार्य प्राथमिकतामा राखेको उल्लेख गर्दै राजदूत वाग्लेले दिगो विकास र समावेशी विकास प्रति नेपालको प्रतिवद्धता, नेपालमा पर्यटन, व्यापार र लगानीका अवसरहरू तथा नेपालको सांस्कृतिक विविधताको महत्वपूर्ण पक्ष बारे चर्चा गर्नुभएको थियो ।

५) दुई वर्ष अगाडि बहराइनबाट रोयल गार्ड टिमले सगरमाथाको सफल आरोहण गरेको तथा यस वर्ष नेपालका नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुईतलाई ईशा अवार्ड फर सर्भिस टु ह्युमानिटी प्राप्त भएको स्मरण गर्दै राजदूत वाग्लेले बहराइन अधिराज्यका राजा हमाद विन इशा अल खालिफा र युवराज तथा प्रधानमन्त्री शेख सलमान विन हमाद विन इशा अल खालिफा एवं बहराइनी सरकार र जनताप्रति आभार तथा कृतज्ञता प्रकट गर्नुभएको थियो ।

६) सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएसंगै नेपाल बहराइन अधिराज्यबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउँदै दुई देशबीच व्यापार, पर्यटन, लगानी, रोजगारीलगायत विभिन्न क्षेत्रमा घनिष्ट सहयोग रहेको तथा बहराइनमा रहेका नेपाली समुदायले सो सौहार्द सम्बन्धलाई थप सम्वर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै बहराइन सरकार तथा बहराइनी जनताबाट नेपाली कामदारहरू प्रति दर्शाइएको सद्‌भाव प्रति आभार प्रकट गर्नुभएको थियो।

७) कार्यक्रममा आमन्त्रित विशिष्ट पाहुनाहरू तथा कूटनीतिज्ञहरूमाझ बहराइनका सामाजिक विकास मन्त्री, परराष्ट्र मन्त्रालयका कन्सुलर तथा प्रशासनिक मामिला सम्बन्धी सचिव, डिन अफ डिप्लोम्याटिक कोर तथा नेपाली राजदूतले संयुक्त रूपमा केक काट्नु भएको थियो। कार्यक्रममा नेपालको मौलिक कला तथा संस्कृति झल्कने नृत्य प्रस्तुतीका साथै नेपालका मनोरम प्राकृतिक सोन्दर्यताका दृश्यहरू भिडियो मार्फत प्रस्तुत गरिएको थियो ।

८) साथै, नेपालका वाद्यवादन तथा मौलिक काष्ठकला, पस्मिना सल लगायतका नेपाली कला, संस्कृति झल्कने सामग्रीहरू र नेपालका विविध पर्यटकीय स्थलका व्यानर प्रदर्शनीमा राखिएको थियो । नेपाली परिकार सहितको रात्री भोज आयोजना गरिएको सो कार्यक्रममा उपस्थित पाहुनाहरूलाई उपहार स्वरूप नेपाली चिया, सुकमेल तथा अलैंचीका प्याकेट र नेपालको पर्यटन सम्बन्धी सामाग्री वितरण गरिएको थियो ।

९) सो कार्यक्रमको सञ्चालन राजदूतावासका उपनियोग प्रमुख श्री सुजना अर्यालले गर्नुभएको थियो ।

 

नेपाली राजदूतावास

मनामा, बहराइन

२६ सेप्टेम्बर २०२३