राजदूतावासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको सम्बन्धी प्रेस विज्ञप्ति

राजदूतावासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको सम्बन्धी प्रेस विज्ञप्ति

बहराइनस्थित नेपाली राजदूतावासले २०८० भदौ १५ गते (तदनुसार १ सेप्टेम्बर २०२३) का दिन बहराइन अधिराज्यमा कार्यरत रहँदै आउनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको हित र सरोकारका विषयहरु तथा नेपाली राजदूतावासका गतिविधिहरु, कन्सुलर एवम् कानूनी परामर्श प्रदान गर्ने लगायतका विषयहरुमा केन्द्रित रही अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजदूतावासमा आयोजित कार्यक्रममा राजदूत श्री तीर्थराज वाग्ले, द्वितीय सचिव श्री सुजना अर्याल, श्रम सहचारी श्री जमुना काफ्ले, तृतीय सचिव श्री सुनीता लकान्द्री एवं बहराइनको श्रम तथा आप्रवासन कानूनविद् तथा वकील अमानी मोसेन एवम् बहराइनमा कार्यरत नेपाली संघसंस्थाका प्रमुख र प्रतिनिधि तथा बहराइनमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो ।

कार्यक्रममा महामहिम राजदूतले सन् २०१३ सेप्टेम्बर १ मा राजदूतावास स्थापना भएको र आज १० वर्ष पुगेको स्मरण गर्दै राजदूतावाससंगको सहयोग र सहकार्यका निम्ति नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभयो । वहाँले राजदूतावासका गतिविधिहरु बारे उल्लेख गर्दै श्रमिक हित र श्रम कूटनीतिलाई आर्थिक कूटनीतिको एउटा प्रमुख प्राथमिकताको रुपमा लिएको बताउनुभयो । साथै, आर्थिक कूटनीति कार्यान्वयन तथा नेपाल प्रवर्द्धनका सन्दर्भमा संस्कृति, पर्यटन, व्यापार, लगानी, प्रविधि, जनशक्ति विकास जस्ता कार्यमा बहराइनमा क्रियाशील विभिन्न नेपाली संघसंस्थासंगको निरन्तर सहयोग र सहकार्य आवश्यक हुने उल्लेख गर्दै नेपाली समुदायको सहभागितामा श्रमिकहरुको हित, सचेतना र दक्षता अभिवृद्धिका लागि राजदूतावास प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी संघसंस्थाका प्रमुख, प्रतिनिधिहरु तथा अन्य सहभागीहरुले श्रमिकहरुले भोग्नुपरेका समस्या,अनुभव तथा आफ्ना धारणा राख्दै समस्या संवोधनका लागि आग्रह गर्नुभएको थियो । अन्तरक्रियाका क्रममा भिजीट भिसामा आउँदा सृजित श्रम समस्या, वैदेशिक रोजगारीमा रहेकाहरुको सामाजिक सुरक्षा कोषमा आवद्धता, फ्लेक्सी भिसामा पुनःश्रमस्वीकृति प्राप्ति प्रकृया, नेपाल बहराइन सिधा हवाई उडानको आवश्यकता लगायतका विषयमा सहभागीहरुबाट राखिएका प्रश्न तथा जिज्ञासाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा आमन्त्रित श्रम तथा आप्रवासन कानूनविद् तथा वकील अमानी मोसेनले नेपाली श्रमिकहरुले भोग्नु परेका मुख्य श्रम समस्या र तिनको समाधानमा चाल्न सकिने कदमका बारेमा कानूनी परामर्श प्रदान गर्नुभएको थियो । बहराइनमा श्रमिक सम्बन्धी कानून र प्रकृया स्पष्ट भएको र समस्या सम्वोधनका क्रममा कामदार तथा स्पोन्सर दुवैका सरोकारका बिषय हेरिनेहुँदा आफ्नो श्रम सम्झौताका शर्त तथा सुविधा, भिसा अवधि, कानूनी बसाई, यदि आफ्नो बसाई अनियमित भएको भए नियमित गराउनुपर्ने विषयमा प्रकाश पार्नुभएको थियो र कुनै समस्यामा परेको भए सम्वन्धित लोकल एजेन्सी, स्पोन्सर, प्रहरी, LMRA, राजदूतावास वा वकीलकहाँ गई समयमै आफ्ना कुरा राख्नुपर्ने र समस्या सम्वोधनका लागि ती निकायमा उजुरी दिनुपर्ने र तत्पश्चात बहराइनको श्रम तथा आप्रवासन कानून बमोजिम प्रक्रिया शुरु हुने कुरा बताउनुभएको थियो ।

राजदूतावासका द्वितीय सचिव श्री सुजना अर्यालले श्रम तथा आप्रवासन कानूनविद् अमानी मोसेन संगको प्रश्नोत्तरका क्रममा सहजीकरण गर्नुभएको थियो । श्रम सहचारी श्री जमुना काफ्लेले पुनः श्रम स्वीकृति, अनलाइन फर्म भर्न देखिएका मुख्य समस्या, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा बहराइनमा नेपाली श्रमिकहरुले भोग्ने गरेका समस्या लगायतका विषयमा प्रकाश पार्दै नेपालको श्रम कानून तथा प्रक्रियागत विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रम सञ्चालन राजदूतावासका तृतीय सचिव श्री सुनीता लकान्द्रीले गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु तथा नेपाली समुदायका व्यक्तिहरुको सक्रिय सहभागिताकालागि नेपाली राजदूतावास हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

 

नेपाली राजदूतावास, मनामा, बहराइन

२०८० भदौ १६ गते (२ सेप्टेम्बर २०२३)