Press Release on Labour Interaction on 14 November 2025
समसामयिक तथा श्रमिक सरोकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न (१४ नोभेम्बर २०२५)
नेपाली राजदूतावास, मनामा, बहराइनले मिति २०८२ कार्तिक २८ गते शुक्रबार तदनुसार १४ नोभेम्बर २०२५ का दिन समसामयिक तथा श्रमिक सरोकारका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बहराइनमा क्रियाशील नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु एवम् बहराइनमा कार्यरत नेपाली श्रमिकहरुको सहभागिता रहेको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा महामहिम राजदूत श्री तीर्थराज वाग्लेले समसामयिक विषय, परिवर्तित सन्दर्भमा नेपाल सरकारको प्राथमिकता एवम् आगामी ५ मार्च २०२६ मा नेपालमा हुन गैरहेको आम निर्वाचन, नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदानका विषयका साथै श्रमिक सरोकार, स्थानीय नियम कानुन पालनाप्रतिको सचेतना, राहदानी नवीकरणको अवस्था तथा राजदूतावासका गतिविधिहरु बारे प्रकाश पार्नुभएको थियो ।
राजदूतावासका श्रम सहचारी श्री सुनीता थापाले श्रमिकहरुका समस्या सम्बोधनका प्रयास तथा स्वास्थ्य जागरणका विषय र पुनःश्रम स्वीकृतिका प्रकृयाबारे जानकारी दिनुभएको थियो । तृतीय सचिव श्री दीपराज जोशीले राहदानी र कन्सुलर सेवा प्रवाह तथा यात्राका क्रममा नेपाल जाँदा वा बहराइनमा फर्कंदा साथमा लैजान- ल्याउन पाउने/नपाउने सामानहरू बारे जानकारी राख्नुपर्ने तथा अध्यागमन र भन्सार सम्बन्धी सूचना जानकारी राख्नुपर्ने लगायतका कुरा स्पष्ट पार्नुका साथै कार्यक्रमको सहजीकरण समेत गर्नुभएको थियो ।
कार्यक्रममा बहराइनमा कार्यरत नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले श्रमिक सचेतनाका कार्यक्रमको महत्त्व, स्वास्थ्य शिविर, न्यूनतम तलव, स्वास्थ्य तथा खानपिनमा अनुशासन, राहदानी सेवा प्रवाहमा सहजीकरणका साथै आम निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकहरुको मतदानको अधिकारको विषय, पुनर्निर्माण कोषमा व्यक्तिगत तथा सामूहिकरुपमा प्रवासी नेपालीले गर्न सक्ने योगदानका बारेमा महत्त्वपूर्ण जिज्ञासा, सुझाव तथा धारणा राख्नुभएको थियो ।
नेपाली राजदूतावास, मनामा, बहराइन
२०८२ कार्तिक २८ गते शुक्रबार (१४ नोभेम्बर २०२५)